उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिरा बिक्री वितरण र सेवन रोक्न आयोगको आग्रह

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते १७:३४ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

आगमी ५ मंसिरदेखि १६ मंसिर सम्म मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने व्यवस्था गर्न आयोगले सरकारलाई आग्रह गरेको हो ।

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन सुरक्षाबारे सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो ।

आयोगले गृहमन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘मिति २०८१/०८/०५ देखि मिति २०८१/०८/१६ गते उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउने ।’

साथै उपनिर्वाचन हुने ३३ जिल्लाको ४४ स्थानीय तहमा उपनिर्वाचनको दिन मंसिर १६ गते सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us