काठमाण्डु, ३ मंसिर– पूर्व मन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबिचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्ने बताएका छन ।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेका पोखरेलले आइतबार हुवई प्रदेश जनसरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताको तहमा सम्बन्ध विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध वृद्धि आवश्यक रहेको पनि उनले बताएका छन ।
उनले भने, ‘चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच गहिरो ऐतिहासिक सम्बन्ध छँदैछ । अब जनस्तरमा पनि सम्बन्ध विस्तार गर्न जरुरी छ ।’
गत हप्ता लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरेका भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गरेका भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनमा महत्वपूर्ण योगदान पुगेको उनले स्मरण गरे ।
उनले मित्रताको साक्षी ईतिहास, भूगोल, राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका ऐतिहासिक पक्ष रहेको पनि बताएका छन । हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनियाँ कम्युनिष्ट पार्टी हुवई प्रदेश पार्टीका महासचिब वाङ जोङलिङले चीन र नेपालबिचको सम्वन्ध राम्रो र भविष्य उज्जवल रहेको चर्चा गर्दै सहयोग आदानप्रदानका अनेक क्षेत्र रहेको बताएका छन ।
साथै हुवई विश्वविद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सद्भाव प्रशंनीय रहेको उल्लेख गर्दै चीनमा नेपाली विद्यार्थीले अध्ययन र बिज्ञता हासिल गर्ने अनुकूल वातावरण बन्ने अपेक्षा गरेका छन ।