काठमाण्डू, ३ मंसिर- गुण्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् ।
काठमाण्डू प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले चेक बाउन्स मुद्दामा लामालाई पक्राउ गरिएको बताए ।
कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरिएको उनले जानकारी दिए ।
काभ्रे तेमालका लामालाई जिल्ला अदालत काठमाण्डूले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगोसहिक ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।
एसपी अधिकारीले पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने जानकारी दिए ।
लामा बुद्धचित्तको माला लुटपार र अवैध रक्तचन्दन कारोबारमा समेत संलग्न थिए ।
२०७५ सालमा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पक्राउ परेका लामाले वर्तमान प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री भएका बेला राजनीतिक संरक्षणमा उन्मुक्ति पाएका थिए ।
लामालाई छुटाउन एमाले सांसद नवीना लामा प्रहरी हिरासतमै पुगेकी थिइन् । लामा र प्रधानमन्त्री ओलीबीच निकट सम्बन्ध रहेको चर्चा बेलाबेला हुने गरेको छ ।
लामामाथि काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँने नाममा एक करोड ७५ लाख रकम ठगी गरेको समेत आरोप छ ।