काठमाण्डु, ३ मंसिर– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएर वर्तमान सरकारप्रति आफूहरुको विरोध नभएको स्पष्ट गरेको बताएका छन् ।
केपी ओली प्रधानमन्त्री भएलगत्तै राणा उपचारका लागि भारत गएकी थिइन् । गुरुङले राणामार्फत वर्तमान सरकारबारे बुझेको उल्लेख गरे ।
‘भारतले हाम्रो परराष्ट्रमन्त्रीलाई बोलाएर सरकारको बारेमा बुझ्न खोजेको होला’, हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्नमा राजेन्द्र बानियाँसँग कुरा गर्दै उनले भने, ‘भारतले यो सरकारको बारेमा हाम्रो विरोध छैन पनि भन्न खोजेका होला भन्ने बुझौं न ।’
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नआउनुलाई ठूलो रुपमा बुझ्न नहुने टिप्पणी गरे । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै थाल्नुपर्छ भन्ने मानक आफूहरुले तोड्न चाहेको जिकिर उनको थियो ।
‘भारतको निम्तो नआउनु के ठूलो कुरा भयो र ? निम्ता त आउला नि । प्रधानमन्त्री भएपछि पहिला भारत नै जानुपर्छ भन्ने भाष्य तोड्न खोजेका छौं । न हामी भारतका ‘टुल्स’ हौं, न चीनको ‘टुल्स’, उनले भने ।
फरक प्रसंगमा गुरुङले वार्ता, सहमति र समन्वयबाट चुच्चे नक्सामा समावेश गरिएको लिपुलेक र लिम्पियाधुराको नेपाली भू–भाग फिर्ता ल्याउने दाबी गरे ।
उनले आफूहरु नेपालको राजनीतिमा व्याप्त विदेशीको दास बन्ने मनोवृत्ति तोड्न उद्धत रहेको बताए ।