उपनिर्वाचनमा आफूविरुद्ध काँग्रेस–एमालेले गठबन्धन गरेपछि माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते ८:०६ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा अपराह्न १ बजे पदाधिकारी बैठक बस्न लागेको सो पार्टीले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति, स्थानीय निर्वाचनको तयारी र अखिल क्रान्तिकारीको सम्मेलनबारे छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा कतिपय स्थानमा माओवादीविरुद्ध पहिलो र दोश्रो सत्ताधारी दल काँग्रेस र एमालेले चुनावी गठबन्धन गरेका छन् ।

एक नेताका अनुसार सम्पूर्ण शक्ति परिचालन गरी काँग्रेस–एमाले गठबन्धनलाई पराजित गर्नेबारे बैठकले योजना निर्माण गर्नेछ ।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिका अध्यक्ष तथा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर–२ को अध्यक्षमा काँग्रेस र एमालेले माओवादीविरुद्ध घोषित चुनावी तालमेल गरेका छन् ।

आफूले जितेका अन्य स्थानमा समेत काँग्रेस–एमालेले अघोषित रुपमा चुनावी तालमेल गरेको माओवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us