पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते ७:३६ मा प्रकाशित

तनहुँ, ३ मंसिर– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड सोमबारदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो ।

उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार सोमबार राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ। राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट बिहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले बताए ।

आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए । ‘मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहनेछ’, उनले भने ।

उक्त अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् ।

त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत सकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us