काठमाण्डु, २ मंसिर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच दिन प्रयास गर्दा पनी प्रधानमन्त्री केपी ओलीले पाँच मिनेट समय नदिएको भन्दै असन्तुष्टि जनाएको छ ।
आइतबार पार्टी कार्यालय बनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्री ओलीले पाँच मिनेट समय पनि नदिएको बताए ।
ओलीको सचिवालयले आज/भोलि भन्दै टारेको उनको भनाइ थियो ।।
‘केही राजनीतिक बुँदाहरू राखेर प्रधानमन्त्रीज्यूलाई भेटेर नै हामी बुझाउन चाहन्थ्यौं । यो देशको चौथो राजनीतिक दलले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक प्रक्रियाअन्तर्गत गएर बुझाउने कोसिस गर्यौं । लगभग पाँच दिन प्रयास गर्यौं । कुनै कार्यक्रममा गएर घन्टौं भाषण गर्ने उहाँले ज्ञापन पत्र लिएर आउँछन् क्यारे, फोटो खिचेर पठाउँला भनेर खिसिट्युरी पनि गर्नुभयो । विभिन्न ठाउँमा गएर बोल्नु पनि भयो । हामीले पाँच मिनेट समय दिनुस्, हामी यो वाचन गरेर तपाईंलाई सुनाउँछौं भन्दै गर्दा पाँच दिनदेखि अनुरोध गर्दै गर्दा उहाँले बेवास्ता गर्नुभयो । उहाँको सचिवालयले रेस्पोन्स गर्दैगर्दा कुनै बेला समय दिन्छौं भन्नुभयो । आजै दिन्छौं, भोलि दिन्छौं भन्नुभयो । तर हामी आउँछौं भन्ने कुराको खिसिट्युरी ठाउँठाउँमा गएर गर्नुभयो । तर हामीलाई समयचाहिँ दिनुभएन,’ झाले भने ।