हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौं:मन्त्री पाण्डे

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १०:२३ मा प्रकाशित

काठमाण्डु, २ मंसिर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मनोमानी हवाई भाडा लिएर यात्रु ठग्ने वायु सेवा कम्पनीमाथि कारबाही हुने चेतावनी दिएका छन् ।
उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री पाण्डको भनाइ छ ।

गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।

सो विषयमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले भनेका छन्, ‘उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण मूल्यमा मात्रै टिकटको भाडा लिनुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । त्यो विपरीत उहाँहरु जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छौं ।’

मन्त्रालयले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको  उनले बताए ।
तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनको भनाइ छ ।

हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महँगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको मन्त्री पाण्डेले जानकारी दिए ।

अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको उनले बताए । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।

मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको दाबी गरे ।
भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पुर्याउने भन्ने योजनामा मन्त्रालय रहेको बताउँदै उनले भने, ‘अहिले केही एयरलाइन्सहरु त्यहाँ गएका छन् ।

उनीहरुलाई त्यहाँ दिगो रुपमा राख्नका लागि सरकारका तर्फबाट गर्ने भनिएको कार्ययोजना र कार्ययोजना अन्तर्गतका कामहरु के कति भएका छन् र के कति गर्नुपर्ने छ भन्ने कुराको फलोअप गरिरहेको छु मैले ।’

भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकहरुसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us