स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०८१ मंसिर २ गते ७:५० मा प्रकाशित

काठमाण्डु, २ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

निर्वाचन आयोगकी सहायक प्रवक्ता नीता पोखरेल अर्यालले मनोनयनको सम्पूर्ण तयारी पूरा भएको बताइन् । उनका अनुसार बिहान १० देखि

बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । आजै साँझ उम्मेदवारको नामावली प्रकाशित गर्ने र उम्मेदवारी उपर सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उजुरी दिने समय निर्धारण गरिएको छ ।

उजुरी उपर छानबिन गरी सोमबारै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको कार्यतालिका छ । उम्मेदवारी फिर्ताका लागि मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समयसीमा छ । ५ गते नै अन्तिम नामावली प्रकाशित गरी उम्मेदवारलाई चुनावचिह्न प्रदान गर्ने कार्यक्रम छ ।

जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एकएक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३४ वडाध्यक्ष गरी ४४ पदमा उपनिर्वाचन हुन लागेको हो ।

रिक्त स्थानमध्ये सबैभन्दा धेरै कांग्रेसले २७, एमालेले आठ, माओवादी केन्द्रले सात, जसपाले एक र स्वतन्त्र उम्मेदवारले जितेका एक स्थान छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जसपा, जसपा नेपाल र लोसपासहित २५ दल आयोगमा दर्ता भएका छन् ।

उपनिर्वाचन हुन लागेको एउटा मात्र नगरपालिकाका कीर्तिपुरमा कांग्रेसले कृष्णमान डंगोल, एमालेले सुरेन्द्र मानन्धर, माओवादीले प्रा.डा. शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । काँग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यस्तै ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुखमा पनि निर्वाचन हुँदैछ । मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ ।

जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us