देशमा राणा, पञ्चायत र राजतन्त्रसँग लडेका दुई दलको सरकार छः पौडेल

काठमाण्डु टुडे २०८१ मंसिर १ गते १८:२७ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्र अन्त्यका लागि संघर्ष गरेका दलहरु काँग्रेस र एमाले मिलेर वर्तमान सरकार गठन भएको बताएका छन् ।

थारु कल्याणकारिणी सभाको २३औं महाधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सरकारले कसैमाथि पनि विभेद नगर्दे बताए ।
थारु समुदायमाथि भइरहेका विभेद र असमानता यो सरकारले अन्त्य गर्ने उनको भनाइ थियो । संविधान निर्माणमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस–एमाले सरकारले थारु समुदायको उन्नति र प्रगतिको अगुवाइ गर्ने दाबीसमेत उनले गरे ।

थारु समुदाय आदिवासी र धर्तीपूत्र भएकाले यो समुदायप्रति गर्व गर्नुपर्ने उनले उल्लेख गरे । पौडेलले संविधानको रक्षा र प्रभावकारी कार्यान्वयन गर्दै सबै समुदाय र वर्गलाई सम्मान र न्याय दिइने जिकिर गरे ।

फरक प्रसंगमा पौडेलले संविधान गतिशील दस्तावेज भएकाले समाजको आवश्यकताका आधारमा परिस्कृत हुँदै जाने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us