काठमाण्डु, ३० कात्तिक– एमाले महासचिव शंकर पोखरेलले जनताको विश्वास र भरोसा कांग्रेस–एमालेप्रति नै रहेको दाबी गरेका छन् ।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार भेटघटमा पोखरेलले प्रमुख पार्टीसँग जनता असन्तुष्ट रहेको भन्नु भ्रम मात्र भएको दाबी गरे ।
प्रमुख दलहरूप्रति जनतामा असन्तुष्टि रहेको भन्ने भ्रम चिर्न पार्टीले ७ मंसिरमा काठमाण्डुमा जागरण सभा आयोजना गरेको पोखरेलको भनाइ थियो ।
‘उपत्यकामा नै आयोजना हुने कार्यक्रमकमा माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ’, उनले भने, ‘त्यो होइन । जनता प्रमुख दलहरुप्रति नै विश्वास र भरोसा गर्दछन् । र, उनीहरुबाटै सुधारको अपेक्षा गर्दछन भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसाबले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं । जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्छ । ’
पोखरेलले सरकारले काम गर्ने उचित वातावरण बनाउन सत्तारुढ कांग्रेस–एमालेले संघ, प्रदेश र स्थानीय तहमा राजनीतिक संयन्त्र बनाएको बताए ।
यद्यपि उक्त संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने उनको स्पष्टोक्ति थियो ।