बुटवल, ३० कात्तिक– सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की लगिएको छ ।
गत ३ कात्तिकदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटर्वकमा अपचलन भएको विषयमा बयान लिन मंगलबार पोखराबाट भैरहवा लगिएको थियो ।
लामिछानेलाई बुद्ध एयरको ७ः४५ को विमानबाट कास्की लाने तयारी थियो । तर, खराब मौसमका कारण जहाज नउडेपछि यति एअरलाइन्सको जहाजबाट १ः३० बजे पोखरा लगिएको रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।
उनीसँग जिल्ला सरकारी वकिल र प्रहरीले तीन दिनसम्म लगातार बयान लिएका थिए । उनीसँगको बयान बिहीबार साँझ सकिएको थियो ।
बयानका क्रममा लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा लैजान आफ्नो भूमिका नहरेको बताएका छन् । आफू सुप्रिम सहकारीको सदस्य नै नभएकाले रकम अपचलनमा संलग्न हुनै नसक्ने तर्क गरे ।
लामिछानेसँग मंगलबार ५ घण्टा, ८ घण्टा र बिहीबार झन्डै १० घण्टा गरी २३ घण्टा बयान लिइएको छ । त्यस क्रममा उनलाई कून ७४ वटा प्रश्न गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । ती सबै प्रश्नमा उनले सहकारीको रकम अपचालनबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रूपैयाँ लामिछानेको नाममा र १४ करोड २९ लाख रूपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामिछाने, सुप्रिम सहकारी र गोर्खा मिडियाका अध्यक्ष जितेन्द्रबाबु (जिबी) राई, गोर्खा मिडियाका सदस्य प्रहरीका पूर्वडिआईजी छविलाल जोशीसहित १२ जनालाई अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालत रूपन्देहीले गत ८ कात्तिकमा अनुमति दिएको थियो ।
राई फार छन् भने कास्की प्रहरीकै हिरासतमा रहेका जोशीलाई पोखराबाट रुपन्देही ल्याएर यसअघि नै बयान लिइसकिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा लामिछानेलाई गत २ कात्तिकमा पक्राउ गरी सोही दिन पोखरा लगेको थियो ।