रवि लामिछाने लक्षित ओलीको टिप्पणीः आफू खुर्सानी खान्छ, पिरो भएपछि मलाई गाली गर्छ

काठमाण्डु टुडे २०८१ कार्तिक २९ गते १८:३२ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले गल्ती गर्नेहरुलाई राज्यका निकायले अनुसन्धान गर्दा विरोध हुनु राम्रो नभएको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कनक्लेभ–२०२४ मा वक्ता रहेका ओेलीले बिहीबार त्यस्तो बताएका हुन् ।

मानिस पक्रने र मुद्धा चलाउने काम आफ्नो नभई प्रहरी र सरकारी वकिलको भएको प्रष्टीकरण उनले दिए ।

ओलीको संकेत सहकारी ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेतर्फ थियो । ‘आफू खुर्सानी खान्छ । पिरो भएपछि मलाई गाली गर्छ’, ओलीले भने ।

ओलीले आफूलाई लामिछाने सहकारी ठगीमा संलग्न रहेको विश्वास सुरुमा नभएको बताए । वासिङ मेशिनमा तीनफेर धोएको जस्तो कुरा गर्ने लामिछाने सहकारी ठगीमा संलग्न होलान् भन्ने अनुमान आफूले गर्न नसकेको उनले बताए ।

‘वासिङ मेशिनमा पनि तीनफेर धोएको जस्तो कुरा गर्ने रविले कसरी यस्तो गरेका होलान् भन्ने अनुमान मैले गर्न सकिन’, ओलीले भने, ‘मैले संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने आवाज उठ्दा पर्दैन भनेको हुँ । सर्वदलीय बैठक र सार्वजनिक रुपमै रविले समिति गठन गरेको माग गरे । रविकै पार्टीको सांसद समेत सदस्य रहेको समितिले कारबाहीका लागि नामै तोकेर सिफारिस गरेपछि सभामुखले सरकारलाई पठाएकाले कार्यान्वयन गरेको होला ।’

पक्राउ गर्ने काम आफूले नभई सहकारी ठगीको प्रतिवेदन सभामुखमार्फत गृह मन्त्रालय हुँदै प्रहरीकोमा पुगेपछि पक्राउ गरिएको र छानबिनका लागि अदालतको आदेशमा पक्राउ गरिएको उनको भनाइ थियो ।

लामिछाने निर्दोष भए सफाई पाउने र दोषी ठहर भए आफूले गरेको कर्मको फल उनैले भोग्नुपर्ने ओलीले बताए ।

ओलीले अगाडि भने, ‘बदमासी गरे पुलिसले छानबिन गर्छ,’ उनले भने, ‘म आफनो काममा हुन्छु । अदालतले प्रक्राउ पुर्जी दिन्छ । प्रहरीले अनुसन्धान गर्छ । प्रहरीको काम म गर्दिनँ । जोकोही होस् गल्ती गर्ने जान्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us