काठमाण्डु, २९ कात्तिक– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुई ठूला दलका प्रमुख नेताको सहमतिमा गठित वर्तमान सरकार लामो समय चल्ने दाबी गरेकी छन् ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कनक्लेभ–२०२४ मा मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि दुई प्रुख दलबीचको सहमतिमा सरकार गठन भएकाले सरकार र गठबन्धनको आयु लामो रहेको बताइन् ।
राणाले वर्तमान सरकार गठन गर्नुको अर्को कारण मुलुकमा सुशासन कायम गर्नु रहेको जिकिर गरिन् ।
‘हामीले केही सोचेरै दुई प्रमु पार्टीहरुका बीचमा सहमति गरेर यो सरकार बनाएका हौं । यो सरकार गठन गर्नुको पहिलो कुरा सुशासन हो । यो सरकार स्थायित्वका लागि हो । साँच्चिकै हामीलाई अस्थिरता धराप नै परेको हो । केही महिनाको अन्तरालमा नयाँ सरकार गठन हुन्छ’, उनले भनिन्, ‘यो सरकार स्थिर रहन्छ किनकी धेरै सोचेर दुईवटा सिधै प्रतिस्पर्धामा बस्ने पार्टीको नेताहरूले गठन गरेको सरकार हो ।’
राणाले राज्यका निकायबीच समन्वयको अभावमा विकास निर्माणलगायत जनतालाई डेलिभरी दिन समस्या भएको बताइन् ।
एक र अर्को मन्त्रालयबीच कुरै नहुने गरेको उनले स्वीकार गरिन् ।
अधिकार दिने तर कार्यान्यवन नगर्ने समस्या नेपाली राजनीतिको प्रमुख समस्या रहेको उनको भनाइ थियो ।