काठमाण्डु, २९ कात्तिक– नेपाली काँग्रेसले परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वागतमा फूलमालासहित उपस्थित हुन कार्यकर्तालाई निर्देशन दिएको छ ।
काँग्रेस डडेल्धुराले पार्टी केन्द्रीय सदस्य एवं सभापति पत्नीसमेत रहेकी राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन जिल्लाका नेता कार्यकर्तार्ला निर्देशन दिएको हो ।
पार्टीका डडेलधुरा सभापति भीमबहादुर साउदले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबार राणालाई स्वागत गर्न
शुक्रबार दिउँसो ३ः३० बजे डडेलधुरा बसपार्कमा फूलमालासहित आउन निर्देशन दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय माननीय डा. आरजु राणा देउवाज्यू मिति २०८१ कात्तिक ३० गते दिउँसो ३ः३० बजे गृहजिल्ला आउने कार्यक्रम भएकोले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरु, टोल कार्यसमितिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरु, उद्योगी व्यापारीहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।’
गत असार अन्तिममा परराष्टन्मन्त्री नियुक्त भएपछि राणाको यो पहिलो जिल्ला भ्रमण हो । सभापति देउवा भने गत २५ कात्तिकदेखि नै गृहजिल्लामा छन् ।