काठमाण्डु, २९ कात्तिक– सहकारीको बचत अपचलन र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज तेश्रो दिन पनि जारी छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको कसुरमा बयानका लागि मंगलबार कास्की प्रहरीको हिरासतबाट बुटवल लगिएको थियो ।
भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेसँग मंगलबार र बुधबार दिनभर बयान लिइएको थियो । आज साँझसम्म बयान सकेर पोखरा पठाउने तयारी भएको जिल्ला रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
पोखराको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत मिनामिनामा संलग्न रहेको आरोपमा लामिछानेलाई गत २ कात्तिकमा वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी सोही दिन राति पोखरा लगिएको थियो ।
संसदीय छानबिन विशेष समितिले सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम ल्याउनेमा लामिछानेको भूमिका नभएको उल्लेख गरेको छ । तर, त्यसरी आएको रकम खर्च गर्नमा भने लामिछानेको भूमिका देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।