माओवादीको उकालो यात्रा सुरु भएको छ: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १५:३९ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी केन्द्रको उकालो यात्रा सुरु भएको दाबी गरेका छन ।

अध्यक्ष प्रचण्डले पार्टी विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको दाबी गरेका हुन । आज (बुधबार) मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

प्रचण्डले भने, ‘जनयुद्ध, शान्ति प्रक्रिया र ०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो, ‘तर विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ । यो यात्रा रूपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’

अध्यक्ष प्रचण्डले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताए ।

पार्टी एकताका विभिन्न दलगतरुपमा विभिन्न माओवादी घटकहरूसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिरहेको उल्लेख गर्दै उनले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने पनि बताएका छन ।

उनले जनयुद्ध लडेका कयौँ नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर विद्रोह गरेर गएको उल्लेख गर्दै उनले भने, ‘क्रान्तिको खोजीमा निस्कनु तपाईँहरूको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरुबीच ध्रुवीकरण र एकताको विकल्प छैन ।

सबै साथीहरू ढिलोचाँडो एक ठाउँमा हुने छौँ, जनताले क्रान्तिप्रति गरेको विश्वास र सपना पूरा गर्न सबै मिलेर नयाँ प्रक्रियाबाट अघि बढ्ने छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us