काठमाण्डू, २८ कात्तिक- कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने गोरखाका नवराज अर्यालको अन्तर्वार्ता लिएको प्रकरणमा
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ऋषि धमलालाई सोधपुछ गरेको छ ।
धमलाले सोमबार प्राइम टाइम टेलिभिजनमा अर्यालको अन्तर्वार्ता लिएका थिए ।
त्यस क्रममा अर्यालले आफू पन्तको बलात्कारपछि हत्या घटनाको प्रत्यक्षदर्शी दाबी गरेका थिए ।
आफू मन्त्रीको सवारी चालक रहेको र सो बाटो भएर हिंडेका बेला उखुबारीमा निर्मलामाथि बलात्कार भएको देखेको जिकिर गरेका छन् । घटनामा तीन जना संलग्न रहेको र ज्यानको सुरक्षा भए उनीहरुबारे बताउने उनको भनाइ थियो ।
सिआइबीले अर्याललाई मंगलबार सोधपुछ गरेको थियो ।
बुधबार पुनः सिआइबीमा उपस्थित हुन भने पनि उनी सम्पर्कबिहीन भएपछि प्रहरीले पक्राउ गरेको थियो ।
ब्युरोका एसपी होबिन्द्र बोगटीले धमलालाई अन्तर्वार्ताबारे बुझ्न बोलाइएको बताए । पन्तको २०७५ साउन १० मा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।