काठमाण्डु, २८ कात्तिक– अजरबैजानको बाकु सहरमा राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डाक्टर मोहम्मद मुइजुबीच भेटवार्ता भएको छ । उनीहरुबीच हिजो मंगलबार भेटवार्ता भएको हो ।
सो भेटवार्ताको क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्ने बताएका छन् ।
अजरबैजानको बाकु सहरमा सोमबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आएका राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उहाँका समकक्षी मुइजुसँग बाकुमा मङ्गलबार भएको भेटवार्तामा उनले सो आग्रह गरेका हुन् ।
भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौँ, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक सदस्यका रूपमा नेपाल र माल्दिभ्सले दक्षिण एसियामा क्षेत्रीय सहयोगको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रपति पौडेलको भनाइ थियो ।
उनले नेपाल सार्कका क्रियाकलाप अगाडि बढाउन प्रयासरत रहेको र यसमा सबै सदस्य राष्ट्रको सहयोगको अपेक्षा गरेको बताए । काठमाण्डु र मालेबिच सम्पर्क सञ्जाल विस्तार गर्न गर्न आवश्यक रहेको तथा माल्दिभस्बाट नेपाल भ्रमणमा आएर पर्यटकहरूले यहाँ विशिष्ट अनुभवहरू आर्जन गर्न सक्ने अवस्था रहेको बताउँदै राष्ट्रपति पौडेलले दुवै देशको आर्थिक विकासमा सघाउ पुग्ने गरी नेपालको हिमाल र माल्दिभ्सका सुन्दर टापुलाई पर्यटकीय गन्तव्यका लागि लागि प्याकेजसहित प्रवर्द्धन गर्न सकिने विचार व्यक्त गरे ।
भेटवार्तामा माल्दिभ्सका राष्ट्रपति डाक्टर मोहम्मद मुइजुले जलवायु परिवर्तनको असर न्यूनीकरणमा माल्दिभ्स नेपालसहित विश्वसँगै मिलेर काम गर्न तयार रहेको बताएका थिए ।