काठमाण्डु, २७ कात्तिक– पूर्वमन्त्री एवं गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुर्याइएको छ । सिआइबीले उनलाई मंगलबार बिहान काठमाण्डुको सानो भर्याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट पक्राउ गरेको हो ।
उनलाई प्रहरीले मंगलबार नै जिल्ला अदालत काठमाण्डुमा बुझाउने छ। ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।
मनाङेलाई ०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन् ।