काठमाण्डु, २६ कात्तिक– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन ।
आज सोमबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुका प्रशनको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन ।
उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको पनि बताएका छन ।
उनले समाज, राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने छुट कसैलाई नरहेको पनि बताए ।
उनले गलत क्रियाकलाप गर्नेहरुलाई आफ्नै पार्टीका भए पनि सरकारले नछोड्ने पनि बताएका छन । उनले भने, ‘वर्तमान सरकार दृढसंकल्पित छ। साथ, समर्थन र सुझाव भइरह्यो भने गलत कुराहरुको रोकथाम र नियन्त्रण गर्नेकुरामा लाग्नेछौँ ।
अहिलेका सबैकुरा एकै दिनमा हुँदैनन्। हाम्रो समाजलाई, हाम्रो राजनीतिलाई अझ अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन ।
कोशी प्रदेशको कानूनमन्त्रीको कुरा गर्नुभएको होला । त्यो एउटा संकेत हो । यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारुढ दलको कुनै सांसद होस् की, कुनै मन्त्री, मुख्यमन्त्री होस्, त्यसले छुट पाउँदैन ।’