रविलाई भेटेपछि रास्वपा नेताले भने– राजनीतिक प्रतिशोध साँध्न हिरासतमा राखियो

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १७:२० मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राज्य पक्षले राजनीतिक प्रतिशोध साँध्न अनावश्यक हिरासतमा राखेको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

आज (सोमबार) कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग छलफल गरेपछि उपसभापति स्वर्णिम वाग्लेले राज्यले सभापति लामिछानेलाई प्रतिसोध साध्न हिरासतमा राखेकाले आन्दोलन जारी राख्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिएका छन ।

यस्तै अर्का उपसभापति डीपी अर्यालले लामिछानेलाई रुपन्देही लगिने जानकारी पाएको भन्दै दोस्रो चरणको आन्दोलन र त्यसको मोडालिटीबारे पर्सी जानकारी गराउने जानकारी दिए ।

यस्तै रास्वपाका प्रवक्ता मनिष झाले जिल्ला प्रहरी कार्यालय कास्कीले पटक पटक म्याद थपेर हिरासतमा राखेर सरकारले अनावश्यक रूपमा दम्भ र प्रतिशोध साँधेको बताए ।

उनले भने, ‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कारण देखिँदैन । हिजो भर्खर १३ दिन म्याद थपिएको छ ।

हामीले स्वास्थ्य अवस्था बुझ्दै आन्तरिक छलफल गरेका छौ । राजनीतिक दल प्रक्रियागत रूपमा चल्नुपर्छ । त्यसैले यसबारे केन्द्रीय समितिमा छलफल गर्छौ र धारणा सार्वजनिक गर्छौ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us