काठमाण्डु, २६ कात्तिक– बागलुङको जैमिनी ७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिएका छन ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान आज बिहान दुर्घटनामा परेको थियो । भ्यानमा सवार ६ जनामध्ये एक जना घाइते छन् ।
४५ वर्षीय गङ्गाबहादुर श्रीष घाइते भएको र उनलाई उद्धार गरेर उपचारका लागि धौलागिरि अस्पताल लगिएको बागलुङ प्रहरीले जनाएको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । भ्यान सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।