काठमाण्डु, २५ कात्तिक– आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्।राष्ट्रपति पौडेल आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेललाई बिदाइ गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत पुगेका थिए ।
बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।