रास्वपा लक्षित देउवाको टिप्पणीः हाम्रा साथीलाई मुद्दा लाग्दा त होहल्ला गरेनौं

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्नुको अर्थ नरहेको बताएका छन ।

आज (आइतबार) गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले यस्तो बताएका हुन । उनले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेको बताएका छन ।

विगतमा कांग्रेसकै नेताहरुमाथि मुद्दा चल्दा आफूहरुले आन्दोलन नगरेको देउवाले बताए । पूर्व प्रधानमन्त्री देउवाले भने, ‘हाम्रा साथीहरुलाई मुद्धा चलाइकै हो, हामीले होहल्ला गरेनौं ।’

उनले लामिछाने पक्राउमा सरकारको पूर्वाग्रह नभएको पनि बताएका छन । सहकारी ठगीमा दोषी ठहर भए मात्र लामिछानेलाई कारबाही हुने भन्दै उनले अनुसन्धानमा सहयोग गर्न रास्वपालाई आग्रह गरे ।

देउवाले सरकार ढल्छ भन्ने गलत हल्ला फैलाउन खोजिएको भन्दै त्यसमा विश्वास नगर्न समेत आग्रह गरेका छन । गृह जिल्ला डडेल्धुरामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आइतबार बिहान सुदूरपश्चिम आएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us