विराटनगर, २५ कात्तिक- मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा
कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएर प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो ।
उनलाई आइतबारै जहाजबाट काठमाण्डू ल्याउने तयारी छ ।
मानव तस्कर गिरोहसँग मिलेर तीन युवालाई जनही १० देखि १३ लाख असुल गरी अधिकारीले जापान लगेका थिए ।
अधिकारीसहित चार जनालाई जापानको टोकियो विमानस्थल अध्यागमन कार्यालयले कागजात शंकास्पद लागेपछि १४ कात्तिकमा डिपोट गरेको थियो ।
काठमाण्डू विमानस्थलमा आएपछि प्रहरीले तीन युवालाई पक्राउ गरे पनि मन्त्री भएको बताउँदै परिचयपत्र देखाएपछि अधिकारीलाई छाडेको थियो ।
एमाले कोशी प्रदेशले अधिकारीलाई शनिबार पार्टीको सक्रिय सदस्यबाट समेत निलम्बन गरेको थियो ।
कोशीको निर्णय एमाले सचिवालयको बैठकले शनिबारै अनुमोदन गरी छानबिनका लागि सम्बद्ध निकायलाई आग्रह गरेको थियो । अधिकारीलाई अनुसन्धान बाहिर राखिएकामा एमाले नेतृत्व र सरकारको चर्को आलोचना हुँदै आएको छ ।