ओली सरकारका कारण राष्ट्रिय स्वाधिनतामा खतराः प्रचण्ड

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते ८:४२ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रिय स्वाधीनता संकटमा धकेलिएको आरोप लगाएका छन् ।

नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगले विकसित भएको र विदेशी शक्ति केन्द्रहरुको दबाब बढ्दै गएको उनले दाबी गरे ।

राष्ट्रिय स्वाधिनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै गएको उनको भनाइ थियो ।

‘हाम्रो राष्ट्रिय अवस्था या हाम्रो भौगोलिक अवस्था, जसलाई हामी भूराजनीतिको अवस्था भन्छौं’, पार्टी निकट पत्रकारको संस्था प्रेस सेन्टरले आइतबार मकवानपुरमा गरेको पत्रकार भेटघटमा उनले भने, ‘ती शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको छ ।’

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजय, इजरायल–हमास र रुस–युक्रेन युद्ध लगायत कारण विश्व नै प्रभावित भइरहेका बेला नेपाल पनि त्यसबाट अछुतो नरहेको बताए ।

भारत र चीन जस्ता ठूला छिमेकीको बीचमा रहेका कारण पनि अन्तर्राष्ट्रिय रुपमा घटेका घटनाबाट नेपाल प्रावित हुने उनले औंल्याए । राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढ गर्ने तथा राष्ट्रिय एकता बलियो बनाउने विषय चुनौतीपूर्ण बनेको प्रचण्डले व्याख्या गरे । ‘अहिले सरकार जुन धरातलमा, जुन उद्देश्यको साथ बनेको छ ।

त्यसको पछाडि जस्ता शक्तिहरू सक्रिय देखिएका छन् त्यो सबैले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पनि पहिलेभन्दा अहिले अझ बढी पेचिलो, अझ बढी संवेदनशील बन्दै गएको छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us