काठमाण्डू, २४ कात्तिक- काठमाण्डु उपत्यकामा दसैँ, तिहार र छठ पर्वको समयमा ३९ हजार ११७ चालकमाथि कारबाही गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैंको घटस्थापनादेखि शुक्रबार बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकमाथि कारबाही गरिएको हो ।
कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ३९ हजारमध्ये तीन हजार ३५० मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकमाथि कारबाही गरिएको जानकारी दिए ।
त्यस्तै, लेन अनुशासन नमान्ने दुई हजार १४४, तीव्रगतिमा सवारी चलाउने तीन हजार ९५७, हेलमेट नलगाउनेलगायत अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने २९ हजार ६ सय ६६ जनालाई कारबाही गरिएको उनले बताए ।
प्रवक्ता चतुर्वेदीका अनुसार दसैँ, तिहार र छठ पर्वका अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा ४५० सवारीसाधन दुर्घटना भएका थिए ।
दुर्घटनामा परी ११ जनाको मृत्यु, ३१ जना गम्भीर घाइते तथा ६ सय ३४ जना सामान्य घाइते भएका प्रवक्ता चतुर्वेदीले बताए ।
यसपालि उपत्यका प्रहरीले काठमाडौंमा पाँच हजारभन्दा बढी प्रहरी परिचालन गरी सुरक्षा निगरानी गरेको थियो ।
त्यसमा एक हजार ६ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालित थिए ।
कुल १८ स्थानमा यात्रु सहायता कक्षा स्थापना भएको थियो।
उपत्यका छिर्ने नाकासहितका क्षेत्रमा सुरक्षा जाँच अभियान र सडकका विभिन्न क्षेत्रमा ट्राफिक नियमपालनविरुद्ध कारबाही अभियान चलाइएको थियो ।