सामाजिक सन्जालबाट ठगी बढ्योः सिआईबी

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते २०:५१ मा प्रकाशित

काठमाण्डू, २३ कात्तिक- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सामाजिक सञ्जालमार्फत ठगीका घटना बढेको भन्दै सचेत रहन अपिल गरेको छ ।

सिआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने क्रम बढेको उजुरी आएको बताए ।

सामाजिक सन्जालमार्फत बैंकको रकमसमेत झिक्ने गरिएको उजुरीमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको कर्मचारी भन्दै खाता रिन्यु वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण माग गर्ने र ठग्ने गरेको उजुरीमा उल्लेख छ ।

‘चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पारी बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्दै आइरहेकोमा हाल आएर विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाईंको खाता रिन्यु वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण माग गर्ने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

ह्याकरले गोप्य विवरण लिएर नक्कली वा चोरीको नागरिकताको दुरूपयोग गरी सीम निकालेर र बैंक खाता खोलेर रकम निकाली ठगी गर्ने गरेको सिआइबीले जनाएको छ ।

शंकास्पद नम्बरबाट फोन आएमा आफ्नो विवरण नदिन पनि सिआइबीले सबैमा अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us