सुर्खेतमा फोर्स गाडी दुर्घटनाः मृतक चार जनाको सनाखत

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते २०:३६ मा प्रकाशित

सुर्खेत, २३ कात्तिक- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्ग्ला नजिकै शुक्रबार भएको सवारी दुर्घटनामा परी मृत्यु भएका सबै ४ जनाकै सनाखत भएको छ ।

दैलेखबाट सुर्खेत आउँदै गरेको देउती नागरिकको कर्णाली प्रदेश ०२००१ख०९९८नम्बरको फोर्स गाडी सुर्खेत-दैलेख सीमास्थित रातानाङ्ग्ला नजिकै सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

मृत्यु हुनेमा दैलेखको भैरबी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, सोही पालिका वडा नम्बर-२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, वडा नम्बर-१ की १६ वर्षीया दिपीका महतारा र २१ वर्षीया संगीता विष्ट रहेको प्रहरीले जनाएको छ ।

सुर्खेत प्रहरी प्रमुख एसपी रूपेश खड्काले दुर्घटनामा ३० जना घाइते भएको र उनीहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताए ।

उनका अनुसार घाइते सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us