गौतमबुद्ध विमानस्थलबाट भोली तीन अन्तर्राष्ट्रिय उडान हुने

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– भोली (शनिबार) भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने भएका छन ।

शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ । शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण हुँदैछ । यो जहाज साढे ८ बजे फर्कने तालिका छ ।

यस उडानमा करिब फुल अक्कुपेन्सीमा यात्रु आउने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन । दिउँसो १२ बजे फ्लाइ दुबईको जहाज आउने तिवारीले जानकारी दिएका छन ।

यो जहाज भैरहवा अवतरण गरी काठमाडौं जानेछ । काठमाडौंबाट थप यात्रु लगेर दुबई फर्कनेछ । शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको जहाजको उडान समेत शनिबारलाई सारिएको उनले जानकारी दिएका छन ।

उनले भने, ‘कम्पनीले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको छ ।’

यो जाहाज काठमाण्डुबाट भैरहवा अवतरण गरी दुबई उड्ने छ । यी उडानहरू प्रारम्भिक भएको र यात्रु अभ्यस्त नभएका कारण अन्य उडानमा भने धेरै यात्रु छैनन् । जजिराले भने यसअघि पनि उडान गरिसकेका कारण सो कम्पनीले राम्रो यात्रु पाइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us