काठमाण्डु, २३ कात्तिक– प्रहरीले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाण्डु बस्दै आएकी २८ वर्षीया मेनुका धिताललाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
उनले थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशु (बालक)लाई झाडीमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले दिदीको घरबाटै नियन्त्रणमा लिएको हो ।
गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट शिशुको उद्धार गरेको थियो ।
शिशु फाल्ने महिलाको खोजतलासका क्रममा स्थानीयले दिएको जानकारी अनुसार शिशुकी आमा मेनुका धिताललाई उनको दिदीको घरमा फेला पारेको प्रहरी निरीक्षक अर्यालले जानकारी दिए ।
४ वर्षअघि सवारी दुर्घटनामा श्रीमान् गुमाएकी धिताले फेसबुकबाट चिनजान भएको युवकसँगको सम्बन्धबाट शिशु जन्मिएको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनको यसअघि २ जना सन्तान रहेका छन् ।