रोकिएन नेप्सेको ओरालो यात्रा

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १५:२७ मा प्रकाशित

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाण्डु, २१ कात्तिक– साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ओरालो लागेर बन्द भएको छ ।

दुई कारोबार दिनको लय पछ्याउँदै नेप्सेले ओरालो यात्रालाई निरन्तरता दिएको हो । बुधबार नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा कायम भएको छ ।

नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।

अघिल्लो कारोबार दिन ४ अर्ब २० करोड बराबरको सेयर कारोबार भएकामा यस दिन ३ सय २० कम्पनीका ५५ हजार २ सय ३८ पटकको कारोबारमा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबर १ करोड १६ लाख कित्ता सेयर खरिदबिक्री भयो ।

यस दिन नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समृद्धि फाइनान्सको सेयर मूल्य करिब ९ प्रतिशतले बढ्यो । यस्तै कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९।५५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स सबैभन्दा हगाडि रह्यो । नेपाल फाइनान्सको ३५ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर बारोबार भयो ।

यस्तै पिपुल्स हाइड्रोपावरको करिब २४ करोडको सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।

यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ ।

विकास बैंक, वित्त, जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.८७ प्रतिशत घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us