प्रहरीले रविलाई तेस्रोपटक अदालत उपस्थित गरायो

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते १२:०६ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरू भएको छ । लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो । लामिछाने यही कात्तिक २ गेत साँझ काठमाण्डुबाट पक्राउ परेका थिए ।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ । लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि रास्वपाले पोखरामा प्रदर्शन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us