छुट्टाछुट्टै दुर्घटनामा पैदलयात्रीसहित ११ को मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक १९ गते १९:०२ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक– विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन पैदलयात्रु छन् । सुनसरी, सप्तरी, बर्दिया, कैलाली, नवलपरासीलगायत जिल्लामा सवारी दुर्घटनाबाट उनीहरुले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बर्दियाको मधुवन नगरपालिका–३ खातास्थित सडकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा आइतबार दिउँसो भे१२ प २१९० नम्बरको मोटरसाइकल चालक गेरूवा गाउँपालिका–५ बस्ने २४ वर्षीय विकास चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अरु दुईजनाको वेस्टर्न अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित थारू चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० बस्ने ५४ वर्षीया डम्मरा ओलीको मृत्यु भएको छ ।

ओलीको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सप्तरीको कञ्चनरूप नगरपालिका–७ बलुवा चोकमा स्कुटरको ठक्करबाट पैदलयात्री सप्तकोशी नगरपालिका–८ का सूर्य नारायण सदाकी छोरी ८ वर्षीया अलिसाको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट घाइते उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा ज्यान गएको हो ।

स्कुटरले अर्को मोटरसाइकललाई ओभरटेक गर्नेक्रममा सडकमा बाटो काड्दै गरेकी अलिसालाई ठक्कर दिएको थियो । स्कुटर र मोटरसाइकल चालक पक्राउ परेका छन् ।

नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका–२ सतपतीस्थित सडकमा बरूवाबाट कुडियातर्फ जाँदै गरेको लु १८प५८४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–२ महलबारीका ४५ वर्षीय दलबहादुर चौधरीको मृत्यु भएको छ ।

चौधरीको तिनाउ अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङको लमही नगरपालिका–५ बैंकरोडस्थित सडकमा लमहीबाट गढवातर्फ जाँदै गरेको रा७प४०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक राप्ती गाउँपालिका–५ कमलरोडका २२ वर्षीय प्रेम रानाको सोमबार बिहान मृत्यु भएको छ । उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरी, धरान उपमहानगरपालिका–१ छाताचोकस्थित सडकमा भानुचोकबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको को२८प८२०४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–१६ बस्ने कुमार श्रेष्ठकी छोरी ६ वर्षीया फिरोजा श्रेष्ठको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट घाइते उनको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका–३ नडाहापुल चोकमा भएको दुर्घटनामा सोही ठाउका लोकबहादुर पौडेलको मृत्यु भएको छ ।

पकलीबाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ६६६२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४५ वर्षीय पौडेलको सोमबार बिहान मृत्यु भएको हो ।

उनको पनि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप उपचारका विराटनगरस्थित विराट टिचिङ अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार २ जनाको धरानमा उपचार भइरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बाईपासस्थित सडकमा भे६प ८०२ नम्बरको मोटरसाइकल र ज ३ प ७१७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भे ६ प ८०२ नम्बरका चालक २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको छ ।

उनको नेपालगन्ज नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल चालकको थप उपचारका लागि भारतको लखनउस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

काठमाण्डुबाट वीरगन्ज जाँदै गरेको ना१ज४४२८ नम्बरको टाटा सुमो अनियन्त्रित भई सोमबार बिहान बाराको जितपुर सिमरा सडकखण्डमा दुर्घटना सुमोमा सवार भारत मोतिहारीका नवीनकुमार साहका छोरा ४ वर्षीय अनमोलकुमार साहको मृत्यु भएको छ । उनको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका भएका सुमोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोरङ, धनपालथान गाउँपालिका–४ ललियामा कर्सियातर्फ जाँदै गरेको प्र–०१–०२–०४३ प ३६९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही पालिकाका २७ वर्षीय मखन बिश्वासको मृत्यु भएको छ ।

आइतबार राति उक्त मोटरसाइकलले पैदलयात्री सोही ठाउँका २६ वर्षीया काजल माझी थारूलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते माझीको भने उपचार भइरहेको छ ।

झापाको कन्काई नगरपालिका–५ तल्लो चप्रामारीमा सुरुङगाबाट झापातर्फ जाँदै गरेको मे११ प ३३८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका विनोद पाठकका छोरा ७ वर्षीय सोहन पाठकको सोमबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर उनको बिर्तासिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक फरार छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us