तिहार सुरु, आज काग तिहार

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते ८:१८ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक- नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहारको अवधिलाई यमपञ्चक भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरिन्छ । कागलाई यमराजको दूत’ तथा सन्देश बाहकको रुपमा पूजा गर्ने प्रचलन छ ।

कागतिहारका दिन कागलाई खानेकुरा दिएर मात्रै खाने चलन छ । कागको पुजा गर्नाले माता लक्ष्मीको आशिर्वाद पाएर धनधान्यले पूर्ण हुने धार्मिक मान्यता छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ। यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै सुरु गरिँदैछ ।

यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको पनि उनले बताए ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मंगलबार बेलुकीदेखि नै सुरु भएको हो ।

यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मंगलबार नै मनाइएको छ ।

यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।

यमपञ्चकको दोस्रो दिन कुकुरको पुजा हुन्छ । तेस्रो दिन बिहान गाई पुजा र साँझ लक्ष्मी पुजा हुने गर्दछ । यमपञ्चकको चौथो दिन बिहान गोवद्र्धन पुजा हुन्छ । यो दिनलाई हलो तिहार पनि भन्ने गरिन्छ । सोही दिन नेपालका नेवार समुदायले म्हः पुजा अर्थात आफ्नै पुजा गर्दछन् ।

तिहारको पाँचौ तथा अन्तिम दिन भाइटिका लगाइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us