एमालेको जग्गा विवादः सर्वोच्चले जारी गर्‍यो अल्पकालीन अन्तरिम आदेश

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– आज सोमबार सर्वोच्च अदालतले सत्ता घटक दल एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले यो विवादमा रिट दायर गरेका थिए भने सर्वोच्चले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै सर्वेच्चमा रिट दर्ता गराएका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।

दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश गरेका थिए । उक्त आदेशपछि दर्ता भएको रिटमा सर्वोच्चले भवन निर्माण समेत तत्काल अघि नबढाउन भनेको हो ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाण्डुको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us