सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको छ: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १६:१० मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताएका छन ।

आज (आइतबार) एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कांग्रेस–एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिवद्ध रहेको पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढ्का छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन ।’

ओलीले विगतमा आफ्नो सरकारले नाकाबन्दीको सामना गरेको भन्दै थपे, ‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि ।’

प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताएका छन ।

प्रधानमन्त्री ओलीले केपी ओलीको साख घट्यो भन्ने प्रायोजित टिप्पणी भएको भन्दै उनले आफू कति लोकप्रिय भन्ने कुरा २०८४ को चुनावमा देखाउने पनि बताएका छन ।

उनले सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यता नभएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us