नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमा फनफन्ती

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– अवतरण अनुमतिएक्स्पायर भएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ भएको छ । यो जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका रहेको थियो । तर, अनुमति नपाएपछि जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ ।

थाई एयर एसियाको जहाज थाइल्यान्डको बैंककबाट काठमाण्डु आएको हो । यात्रुसहित जहाज होल्डमा बसिरहेको छ । थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र रहेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन । आजदेखि ‘विन्टर सेड्युल’ लागु भएको छ ।

सोहीकारण यो जहाज काठमाण्डुमा अवतरण गर्न पाउँदैन । उनले भने, ‘अब जहाज डाइभर्ट हुनुपर्छ, नेपालमा बस्ने अनुमति छैन ।’ यो घटनामा नेपालको नियामक निकायप्रति समेत प्रश्न चिन्ह उठेको छ ।

जहाज आउँदैछ भन्नेबारे नेपालको प्रणालीमा जहाज उड्नु अगाडि नै थाहा हुन्छ । तर, काठमाडौंबाट १३ नटिकल माइल आएपछि मात्र जहाज रोकिएको छ । जहाजलाई अवतरण गराउने वा डाइभर्ट गराउनेबारे अहिले प्राधिकरणका उच्च अधिकारीहरू छलफलमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us