काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिक्षा को ‘हब’ बनाउन चाहेको बताएका छन ।
आज (आइतबार) एमाले निकट युवा संघ नेपालले आयोजना गरेको एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञसँगको संवादमा उनले यस्तो बताएका हुन ।
उनले एसईईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउन एआईको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सरकारले हेरिरहेको बताएका छन ।
उनले विज्ञान प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने पनि बताएका छन । उनले सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिएका छन ।
प्रधानमन्त्री ओलीले भने, ‘विकासको तीर्खाबाट हामी ग्रस्त छौं, त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔं, हामीले आर्टिफिसियल इन्टेलिजेन्सको सकारात्मक उपयोग गर्नुपर्छ, ‘एआईको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ ।’ उनले आटिर्फिसियल इन्टेलिजेन्ससम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिएका छन ।