माओवादीहरुले अझै धम्क्याएको भरमा खाने गरेका छन: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिएका छन् ।

आज (आइतबार) गैरआवासीय नेपालीहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो जवाफ फर्काएका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘ हिजो एक जना उफ्री उफ्री भाषण गर्दै थिए, हतियार बिसाएको मात्र हो भ्रम नरहोस्, चलाउन बिर्सेको छैन रे’ प्रधानमन्त्रीले त्यस्तै हुन नहुने बताए ।

प्रधानमन्त्रीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप पनि लाएका छन । उनले हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने आफूलाई थाहा भएको पनि बताए ।

ओलीले भने, ‘फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौ तर बिसाउन लगाउन जानेको छ हामीले’ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार आयोजित खबरदारी सभामा आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us