काठमाण्डु, १० कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीमा संलग्न काँग्रेस र एमालेका नेताहरुलाई पक्राउ नगरिएकामा आपत्ति जनाएका छन् ।
पार्टीको उपत्यका विशेष र बागमती प्रदेशले शनिबार राजधानीमा गरेको खबरदारी सभामा बोल्दै उनले संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेका सत्तारुढ दुई दलका नेतालाई छानबिनको दायरामा नल्याइएकामा आपत्ति जनाएका हुन् ।
प्रचण्डले सरकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा खबरदारी सभा गरेको प्रचारमार्फत आफ्नो दललाई बदनाम गर्न खोजिएको टिप्पणी गरे ।
प्रचण्डले माओवादी विगतमा आफू प्रधानमन्त्री भएका बेला सहकारी पीडितलाई न्याय दिन धेरै प्रयास गरेको दाबी गरे ।
सरकारबाहिर आएपछि पनि सहरकारी पीडितहरूको न्यायको पक्षमा आफ्नो दल उभिएको उनको भनाइ छ । प्रधानमन्त्री भएका बेला सहकारीमा भएको अपचलन छानबिनका लागि संसदीय समिति बनाउने विषयमा रवि लामिछानेलाई आफूले सहमत गराएको स्मरण उनले गरे ।
छानबिनलाई अन्यथा रुपमा नबुझ्न तथा गल्ती गरेको भए सजाय भोग्न र नगरेको भए उन्मुक्ति पाउने भन्दै आफूले लामिछानेलाई समिति गठनमा सहमत गराएको प्रचण्डले बताए । तर, वर्तमान प्रधानमन्त्री केपी ओली समिति बनाउन नहुने पक्षमा रहेको उनले खुलाए । ‘वि लामिछानेलाई मेले तपाईं दोषी हो भने कारबाही भोग्न तयार हुनुपर्छ । होइन भने तपाईंले उन्मुक्ति पाउनुहुन्छ, डराउनुपर्ने कारण छैन भनेको हुँ’, उनले भने, त्यहीअनुसार समिति बनोस् भनेको हो । बरू बन्न हुँदैन भन्ने केपी ओली हो । हर हालतमा रविलाई बचाउनैपर्छ भन्ने केपी ओली हो ।’
यद्यपि अनुसन्धानका नाममा लामिछानेलाई मात्र थुन्ने र आफ्ना दलका नेतालाई उन्मुक्ति दिने सरकारको रबैयाप्रति भने आफूहरुको आपत्ति रहको बताए । ‘त्यही प्रतिवेदनमा नाम उल्लेख भएका नेकपा एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिं छानबिन गर्न नपर्ने । कांग्रेसका नेताको पनि नाम छ त्यहाँ, त्यो नामलाई केही गर्न नपर्ने’, प्रचण्डले भने, ‘राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने तरिका बेठीक छ ।’
आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्ध सुशान अभियान चलाउँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुखलाई भ्रष्टाचारमा प्रचण्ड र माओवादी केन्द्रका कोही नेताको नाम जोडिएको देखिए उन्मुक्ति नदिनु भन्ने निर्देशन दिएको उनले उल्लेख गरे ।
‘माओवादीको मान्छे पर्यो भनेर बचाउन पर्दैन । भ्रष्टाचारमा प्रचण्डकै संलग्नता देखियो भने पनि पक्राउ गरे हुन्छ भनेको थिएँ । त्यसो भन्ने मान्छेलाई अहिले कसैलाई बचाउने सभा गर्नुपर्छ ?’, प्रचण्डले प्रश्न गरे ।