काठमाण्डु, १० कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमाले दलाल, बिचौलिया र भ्रष्टहरुको प्रतिनिधि भएको आरोप लगाएका छन् ।
पार्टीको बागमती र उपत्यका विशेष प्रदेशले शनिबार राजधानीमा गरेको सभालाई सम्बोधन गर्दै उनले सरकारका सय दिनका कामकारकाहीबाट आफूहरुले गर्दै आएको आशंका पुष्टि भएको बताए ।
उनले विगतमा काँग्रेस र एमालेसँग गरिएका सत्ता सहकार्य र चुनावी तालमेलप्रति पश्चाताप व्यक्त गरे । काँग्रेस–एमालेको संगतले आफूहरु पनि केही बिग्रिएको र त्यसलाई धोइपखाली गर्न जनतामा जाने नीति अख्तियार गरिएको उनको भनाइ थियो ।
‘तपाईंहरुको पार्टी दलाल, बिचौलिया र भ्रष्टहरुको प्रतिनिधिका रुपमा रहेको छ’, उनले भने, ‘हामीले तपाईंहरुसँग सहकार्य गरेर र तालमेल गरेर गल्ती गरेका छौं । तपाईंहरुको रोग हामीलाइ पनि सरेको महसुस जनताले गरेका छन् ।’
प्रचण्डले सरकारबाट हटाएर आफूहरुलाई जनताकोमा जाने वातावरण बनाइदिएको भन्दै काँग्रेस र एमालेलाई धन्यवाद पनि दिए । ‘हामी अलिअली बिग्रिन थालेका थियौं । जनताबाट टाढिएका थियौं । प्रतिक्रियावादीहरुसँग रहँदा हामी पनि तपाईंहरुजस्तै हुन खोजेका थियौं । तपाईंहरुलाई धन्यवाद छ हामीलाई जनतातिर फर्काइदिनुभएको छ’, प्रचण्डले भने, ‘भ्रष्टाचारीहरु नेताहरुसँग लागेर माओवादी पनि केहो के हो भन्ने भ्रम जनतामा परेका थियो । अब हामी जनतालाई भन्छौं ताईंहरुकै छोराछोरी हौं । हामी जाली फटाहासँग लागेर अलीअली बिग्रयौं । तपाईंहरुको मुक्ति नहुँदासम्म अन्तिमसम्म लड्छौं भन्छौं ।’
दुई फरार अभियुक्त पक्राउ परेपछि आफू पनि फसिने डरले पार्टी पंक्तिलाई समेत गुमराहमा राखेर दलाल व्यापारीको घरमा मध्यरातमा आफ्नो नेतृत्वको सरकार ढाल्ने सहमति भएको आरोप उनले लगाए ।
‘अन्तिमपटक विश्वासको मत लिँदै गर्दा प्रतिनिधिसभामा बोल्दा मैले यो सरकार बनेकामा कुनै चिन्ता छैन । सरकार नयाँ बन्यो भन्ने चिन्ता होइन । यो सरकार कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, यो सरकार भ्रष्टचारीहरु बचाउन बन्यो, यो सकार रातको अँध्यारोमा आफ्नो पार्टी पंक्तिलाई ढाँटेर जालझेल र षड्यमा बन्यो । दलालहरुको घरमा गएर राति १२ बजे अप्राकृतिक रुपमा बन्यो । हामीले जे शंका गरेका थियौं सरकारले आफैंले सय दिनमा त्यो कुरा पुष्टि गरेको छ’, उनले भने ।