ओलीलाई प्रचण्डको चुनौतीः काँग्रेसको वैशाखी टेकेर दुई तिहाईको धाक नलगाए हुन्छ

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते १६:२१ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको वैशाखी चडेर दुई तिहाईको धाक नलगाउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।

पार्टीले शनिबार राजधानीमा गरेको खबरदारी सभामा बोल्दै उनले नेकपाको दुई तिहाई भएका बेला संसद् विघटन गरेर आफ्नै खुट्टामा बञ्चरो हान्ने ओलीले अर्काको बुई चढेर फुर्ती लगाएको नसुहाउने टिप्पणी गरे ।

‘एमाले नेतृत्वको सरकारलाई दुई तिहाइृको कुरा गरेको विल्कुल सुहाउँदैन’, उनले भने, ‘नेकपा हुँदा आफ्नै दुई तिहाइमा बञ्चरो हान्ने नेताले काँग्रेसको वैशाखीमा दुई तिहाईको धाक लगाएर हुन्छ ? काँग्रेसको बुई चडेर दुई तिहाईको कुरा गर्नु लाजमर्दो होइन ?’ ।

राजनीतिमा संख्या नभई सत्य र जनता ठूलो कुरा भएको उनको भनाइ थियो । काँग्रेस र एमालेलाई विश्वास, आदर्श र राजनीति उद्देश्यले नभई सुशासनको डरले जोडेको टिप्पणी पनि उनले गरे ।

ओलीमा इमान्दारीता भन्ने चिज नभएको भन्दै प्रचण्डले अरुले गर्नु हुन्न भनेका कुरा गर्नैपर्ने, कहिल्यै गल्ती स्वीकार नगर्ने र अपराधीहरुलाई संरक्षण गर्ने ओलीको मुख्य विशेषता रहेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us