काठमाण्डु, १ कात्तिक– आज बिहिबार विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ ।
आजको बैठकले राहत रकम उपलब्ध गराउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । भदौ २१ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २० जिल्लाका ७१ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
बाढी पहिरो प्रभावित क्षेत्रलाई तीनवटा तहमा छुट्टाइएको थियो । पहिलो तहका ९ वटा स्थानीय तहलाई १ करोडका दरले रकम छुट्टाइएको छ । दोस्रो तहका १२ वटा स्थानीय तहलाई ७५ लाख र तेस्रो तहका ५० वटा स्थानीय तहलाई ५० लाख रकम छुट्टाइएको हो ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको आजको बैठकमा स्वास्थ्य मन्त्री, सामान्य प्रशासन मन्त्री, निजी क्षेत्रका व्यक्तिहरू सहभागी रहेका थिए ।