काठमाण्डु, १ कात्तिक– प्रहरीले बाँकेबाट १२ वर्षीया बालिकालाई सामूहिक बलात्कारको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाँकेको कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकी, बाँकेको बैजनाथ गाउँपालिका–१ करेलीका २४ वर्षीय डम्मरबहादुर रोकाया, सोही ठाउँका १९ वर्षीय निशान रोकाया, सोही गाउँपालिका–१ गाबरका १९ वर्षीय निर्मल थापा, सोही ठाउँका १९ वर्षकै विजय कार्की र सोही ठाउँका १९ वर्षकै जीवन रोकाया रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
२७ असोज र २८ मा होटल यात्रीको कोठा नम्बर १०५ र २०४ मा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको खुलेको छ । बाँकेकै राप्तीसोनारी बालिकामाथि बलात्कार भएको भन्दै पीडितको तर्फबाट बुधबार मात्रै इलाका प्रहरी कार्यालय कोहलपुरमा सूचना आएको थियो ।
त्यसपछि इन्सपेक्टर राजकुमार भट्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पक्राउ गरेको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन ।
सुरुमा बलात्कार आरोपित पाँच जनालाई पक्राउ गरिएकोमा होटल सञ्चालमाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई पनि पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।