काठमाण्डु, १ कात्तिक– प्रधानमन्त्रीको सरकारी विवास बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक भएको छ ।
बैठकमा कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी रहेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।
आजको बैठकमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ । गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।