जग्गा दान लिएकामा कटाक्ष गर्दै भीम रावलले भनेः फिल्म छक्कापञ्जा-५ हेरेपछि एमाले चिन्न सजिलो हुन्छ

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते ५:२९ मा प्रकाशित

काठमाण्डू, १ कात्तिक- एमालेका नेता भीम रावलले व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिने र उनैले कार्यालय भवन बनाइदिने निर्णय पार्टी नीति र आदर्शविरीत रहेको बताएका छन् ।

चलचित्र ‘छक्कापञ्जा ५’ हेरेपछि बुधबार साँझ  संचारकर्मीसँग कुरा गर्दै नेता रावलले विवादित व्यवसायीलाई पार्टी कार्यालय निर्माणको जिम्मा दिने कार्य मार्क्सवादी-लेनिनवादी आदर्श, सिद्धान्त र मूल्य मान्यताविपरीत रहेको टिप्पणी गरे ।

‘एमालेले दस्तावेजमा सुशासनको कुरा गर्छ । त्यस्तो राजनीतिक दलले कर सम्बन्धी कुरामा पनि मुद्दा खेपिरहेको, जग्गाको मुद्दामा त दण्ड सजाय नै पाएको व्यवसायीलाई लगेर शिलामा निजको नाम र निजको परिवारलाई नै उपस्थित गराएर त्यहाँ राख्ने, निजले नै बनाउने भन्ने कुरा गम्भीर सिद्धान्त र आदर्शबाट भएको विचलन हो’ नेता रावलले भने ।

मुलुकको प्रधानमन्त्री चलाइरहेको पार्टीले विवादास्पद गतिविधि र मुद्दामामिलामा मुछिएको व्यक्तिको पैसामा पार्टी कार्यालय बनाउने कुरा निन्दनीय रहेको उनको भनाइ थियो । चलचित्र ‘छक्कापञ्जा -५’ ले  एमालेले गरिरहेको भ्रष्टाचारलाई कटाक्ष गरेको उनले बताए ।

गुरुङले कीर्तिपुर नगरपालिका- २ ढुंगे अड्डामा १० रोपनी १४ आना एमाले कार्यालय बनाउन दान गरेको विषयमा जनस्तरबाट चर्को विरोध भइरहेको छ । सोही जग्गामा गत २५ असोजमा दशैंको अस्टमीका दिन

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, उनकी पत्नी राधिका शाक्य, व्यवसायी मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री घले गुरुङले  संयुक्त रुपमा पार्टी कार्यालय भवन शिलान्यास गरेका थिए ।

गुरुङले सो स्थानमा अर्को दशैंमा ९ तले आधुनिक पार्टी कार्यालय निर्माण गरी एमालेलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us