मीनबहादुर पार्टीका सक्रिय कार्यकर्ता हुन्, विरोधको कुनै अर्थ छैनः एमाले

काठमाण्डु टुडे २०८१ असोज ३० गते १५:५३ मा प्रकाशित

काठमाण्डु, ३० असोज– सत्ता घटक एमालेले आफ्नो पार्टी मुख्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर भएका छलफल, बहस र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज (बुधबार) प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन । उनले जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू खेदजनक भएको पनि बताएका छन ।

प्रचार विभाग प्रमुख गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य छ ।’

साथै एमालेले जग्गा दाता व्यवसायी मीनबहादुर गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा नै अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको बताएको छ । ‘नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यमा रही कार्य गरेको तथ्य जगजाहेर छ’, गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले गुरुङका नाममा विचाराधीन रहेको मुद्दाका बारेमा गुरुङले नै फेस गर्ने र संविधान र कानुनभन्दा माथि कोही नरहेको पनि जनाएको छ । ‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं ।

यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन । वहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन’, एमालेले भनेको छ ।

लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको दाबी गर्दै एमालेले यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको समेत स्पष्ट पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us