धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका रसियन नागरिकहरूको शव काठमाण्डु पठाइयो

काठमाण्डु टुडे २०८१ असोज ३० गते १५:१६ मा प्रकाशित

काठमाण्डु, ३० असोज– धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज बुधबार काठमाण्डु ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव फेला परेको थियो ।

रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाण्डु पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन ।

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवलाई काठमाण्डुको त्रिवि शिक्षण अस्पतालमा पठाएको श्रेष्ठले जानकारी दिएका छन ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो फेला परेको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us